नेपाल प्रहरी प्रधान कार्यालय
कार्य विभाग
स्मारक गुठी
परिचय:
सभ्यताको विकासको प्रारम्भसंगै परिकल्पित प्रहरी हरेक विकट र विषम परिस्थितिमा पनि सुम्पिएको उत्तरदायित्च र कर्तव्य निर्वाह प्रति अदम्य साहस, वीरता, बहादुरी र धैर्यताका साथ सदैव समर्पित रहेको छ । सामाजिक उद्देश्य तथा कानून पालन गराउने प्रत्यक्ष कर्तव्य र उत्तरदायित्व प्रत्यक्ष प्रहरीको हो भने सत्य सेवा सुरक्षणमको महान उद्गारद्वारा प्रेरित तथा मार्गदर्शित प्रहरीको आफ्नो कर्तव्य परायणताका गाथा र वीरताको इतिहासलाई जीवन्त राख्नु तथा भावी पुस्ताको निमित्त प्रेरणाको श्रोत स्वरुप आदरणीय र प्रात स्मरणीय रुपमा अमर तुल्याउनु इतिहासको कर्तव्य पनि हो । मातृभुमिका वीरहरु इतिहासको गर्भमा समाहित हुन्छन् । वीरहरुको अमरत्व भावी पुस्ताका लागि प्रेरणाको अनन्तश्रोत बन्न पुग्छन् ।
यस्तै थुप्रै भावनात्मक अभिव्यक्तिहरुलाई समेटेर श्रद्वासुमन सहितको न्यानो स्मृतीको पलहरुलाई सबैका बीच एक्यबद्वताको सम्बन्धमा गाँस्ने बलियो अठोट गर्दै प्रहरीबीचको हित र सीमित घेराभित्र नअल्मलियर समाजको सबै पक्ष र वर्ग बीच आफ्ना उद्देश्यहरुलाई साकार रुप दिने तथा कर्तब्य पालनाको सिलसिलामा आफ्नो प्राणको आहुति दिने अमर प्रहरी तथा आश्रित परिवारलाई सहयोग होस् भन्ने भावना सहित गुठीको दर्ता, स्थापना र संञ्चालन गर्न वाञ्छनीय भएकोले तदनुरुप संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम कुनै मुनाफाको उद्देश्य नभएको गैरसरकारी संस्था जिल्ला प्रशासन कार्यालय काठमाण्डौको मिति २०५१।०४।१९ को निर्णयानुसार “नेपाल प्रहरी स्मारक गुठी” को स्थापना भएको हो ।
उद्देश्य:
कर्तब्य पालनाको सिलसिलामा आफ्नो प्राणको आहुति दिने अमर प्रहरीका आश्रित परिवारहरुलाई सहयोग एवं अमर प्रहरीहरुको सम्झनामा प्रत्येक वर्ष प्रहरी दिवसको दिन श्रद्वाञ्जली कार्यक्रम आयोजना गर्ने, वीरगती प्राप्त प्रहरी कर्मचारीहरुको जेहेन्दार सन्ततीहरुलाई छात्रवृत्तिको लागि दाता/संघ संस्थाको नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने, परिवारहरुलाई अभिनन्दन गर्ने, प्रहरी स्मारकको मर्मत सम्भार तथा सम्बर्दनलाई निरन्तरता दिने, उद्देश्यले यस गुठीको स्थापना भएको ।